काठमाडौं- विभागीय टिम, त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध फराकिलो जित निकालेको छ। बुधबार भएको खेलमा आर्मीले चौदण्डीगढीलाई १२–० गोलले हराएको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीकी शर्मिला थापाले ह्याट्रिकसहित पाँच गोल गरिन्। त्यस्तै, सपना लामाले दुई, विमला विक, रश्मी घिसिङ, हेमा चौधरी, अञ्जली वाइबा, विमला चौधरीले समान १–१ गोल गरे।
खेलको तेस्रो मिनेटमा नै हेमाले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाइन्। खेलको छैटौं मिनेटमा शर्मिलाले गोल गर्दा आठौं मिनेटमा कप्तान अञ्जलीले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए।
त्यसपछि खेलको १२ र २३औं मिनेटमा गोल गर्दै शर्मिलाले ह्याट्रिक पूरा गरिन्। उनको ह्याट्रिकसँगै आर्मीले ५–० गोलको अग्रता बनाएको थियो। त्यसपछि खेलको २९औं मिनेटमा शर्मिलाले र ३०औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ७–० को अग्रता दिलाए।
३६औं मिनेटमा शर्मिलाले व्यक्तिगत पाँचौं गोल गर्दा आर्मीले पहिलो हाफसम्म ८–० गोलको अग्रता बनायो। पहिलो हाफसम्म नै फराकिलो अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकालेको हो।
४८औं मिनेटमा विमला र ८४औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई १०–० को अग्रता दिलाइन्। ८७औं र खेलको अतिरिक्त समयमा सपनाले दुई गोल गर्दा आर्मीले १२–० को जित निकाल्यो। यो जितसँगै आर्मीले ६ खेलमध्ये चार खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै १३ अंक बनाएको छ। यता, चौदण्डीगढी भने ६ खेलमा सबै खेल हार्दै अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।