काठमाडौँ- महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ। महाशाखाले अनलाइनबाट नै जरिवानालाई भुक्तानी गर्न सकिने सफ्टवेयर प्रणाली विकास गरी सञ्चालनमा ल्याइएको हो।
ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टिभिआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाहरूबीचमा आबद्ध भई रियल टाइममा सम्मनधित बैंकको खातामार्फत जरिवाना रकम भुक्तानी हुने गरी प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
एसएसपी भट्टराईले यसअघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागू गरिएको बताए। यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आउने र समयको समेत बचत हुनेछ।
विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरू ई-सेवा र नेपाल क्लियरिङ्ग हाउस (कनेक्ट आइपिएस)का प्रतिनिधिहरुको उपस्थितिमा महाशाखा प्रमुख एसएसपी भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो।
यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।