काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ। आर्सनल वुल्भ्ससँग २–१ गोलअन्तरले पराजित भएको हो। घरेलु टिम वुल्भ्सको जितमा रुबेन नभेस र जोआओ माउटिन्होले गोल गरे।
यता, आर्सनलका लागि निकोलस पेपेले गोल गरेका थिए। खेलको ३२औं मिनेटमा आर्सनलका पेपेले गोल गर्दै १–० को अग्रता दिलाए। तर, पहिलो हाफको अतिरिक्त समयमा वुल्भ्सका विलियन जोसेलाई डेविड लुइसले डिबक्सभित्र फोउल गरेपछि रेफ्रिले उनलाई रातो कार्ड दिएका थिए। लगत्तै १० खेलाडीमा झरेको आर्सनलविरुद्ध रुबेनले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी बनाए।
खेलको ४९औं मिनेटमा माउटिन्होले गोल गर्दै वुल्भ्सलाई २–१ को अग्रता दिलाए। खेलको ७२औं मिनेटमा आर्सनल ९ खेलाडीमा सीमित भयो। आर्सनलका बेन्र्ड लेनोले हातले बल रोकेपछि उनले रातो कार्ड पाएका थिए। ९ खेलाडीमा सीमित भएको आर्सनललाई बाँकी समयसम्म रोक्दै वुल्भ्सले २–१ को जित निकालेको हो।
त्यस्तै, प्रिमियर लिगमै भएका अन्य खेलमा शेफिल्ड युनाइटेडले वेस्ट ब्रुमलाई २–१ ले पराजित गर्दा क्रिस्टल प्यालेसले पनि न्यूक्यासललाई २–१ गोलअन्तरले नै पराजित गरेको छ। हारसँगै आर्सनलको २२ खेलबाट ३१ अंक हुँदा वुल्भ्सको भने २२ खेलबाट २६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।