काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको छ। युनाइटेडले साउथह्याम्पटनविरुद्ध ९–० गोलको जित निकालेको हो।
घरेलु टिम म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्सियलले दुई गोल गर्दा आरोन वान विसाका, मार्कुस राष्फोर्ड, इडिन्सन काभानी, स्कट म्याक टोमिने, ब्रुनो फर्नान्डेज र ड्यानियल जेम्सले गोल गरे। युनाइटेडले एक गोल भने उपाहार स्वरुप पाएको थियो।
खेलको १८ औं मिनेटमा आरोनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। खेलको २५ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए।
खेलको ३४ औं मिनेटमा भने साउथह्याम्पटनका यान बेडनारेकले आत्मघाती गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनायो। खेलको ३९ औं मिनेटमा काभानीले गोल गर्दा युनाइटेडले पहिलो हाफसम्म साउथह्याम्पटनविरुद्ध ४–० को अग्रता बनायो।
६९ औं मिनेटमा एन्थोनी मार्सियलले र ७१ औं मिनेटमा स्कट म्याक टोमिनेले गोल गर्दै युनाइटेडको अग्रतालाई ६–० मा पुर्याए। एकपक्षीय रुपमा एकपछि अर्को गोल गर्दै अग्रता बनाएको युनाइटेडले ८७ औं मिनेटमा फेरि गोल गर्यो। यो पटक भने ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको अग्रतालाई ७–० मा पुर्याए। ९० औं मिनेटमा एन्थोनी मार्सियल र खेलको अतिरिक्त समयमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ९–० को फराकिलो जित दिलाए।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग बराबरी अंक बनाएको छ। २२ खेलबाट म्यानचेस्टर युनाइटेडले ४४ अंक बनाएको छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ४४ अंकसहित लिगको शीर्ष स्थानमा छ। २१ खेलबाट ४० अंक बनाएको डिफेन्डिङ च्याम्पियन लिभरपुल भने लिगको तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।