काठमाडौं– युभेन्टसले कोपा इटालिया फुटबलको सेमिफाइनलको पहिलो लेगमा जित निकालेको छ। युभेन्टसले इन्टर मिलानलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इन्टर मिलानविरुद्ध युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुबै गोल गरे। इन्टर मिलानका लागि लाउटारो मार्टिनेजले गोल गरे। खेलको नवौं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाए। तर यो अग्रता जोगाउन नसक्दा इन्टर मिलानले पहिलो सेमिफाइनलको पहिलो लेगमा हार व्यहोरेको हो।
खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको इन्टर मिलानका एश्ले योङले जुआन कुड्राडोलाई डिबक्सभित्र फोउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो।
खेलको ३५ औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दा युभेन्टसले २–१ गोलको अग्रता बनायो। पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।