काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग ११ हजार घुस लिएको अभियोग लागेको छ।
आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो। आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
यस्तै, आयोगले मंगलबार नै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आठ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
यस्तै आयोगले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै स्थानीयवासीबाट अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको छ।
आयोगले बस्नेतलाई १५ हजार रूपैयाँ घुससहित गौशाला नगरपालिका–५ रामनगर महोत्तरीबाट सोमबार पक्राउ गरेको हो। आरोपी हवल्दार बस्नेतको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।