काठमाडौं– स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। मंगलबार भएको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हराएको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङका लागि तीनै गोल विदेशी खेलाडीले गरे। मेथो इलुडी रुथले दुई गोल गरिन्। त्यस्तै, टुटा वर्नेला इभानिक नोलले एक गोल गरिन्। खेलको ३७ औं मिनेटमा नोलले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै वालिङलाई अग्रता दिलाइन्। खेलको ४५ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई पहिलो हाफसम्म २-० गोलको अग्रतामा पुर्याइन्।
पहिलो हाफसम्म २–० ले अघि रहेको वालिङले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। खेलको ५३ औं मिनेटमा रुथले नै व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३–० गोलको अग्रता दिलाइन्। चन्द्रपुरले राम्रो प्रदर्शन गरेपनि गोल गर्न भने सकेन।
जितसँगै वालिङ चौथो स्थानमा उक्लिएको छ। वालिङले ६ खेलबाट दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै ८ अंक बनाएको छ। पराजित चन्द्रपुर भने लिगको छैटौं स्थानमा छ। चन्द्रपुरले ६ खेलमध्ये एक खेलमा जित र पाँच खेलमा हार व्यहोर्दै तीन अंक बनाएको छ।
लिगको शीर्ष स्थानमा भने एपिएफ क्लब रहेको छ। एपिएफको ६ खेलबाट १८ अंक छ। लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ। आर्मीको पाँच खेलबाट १० अंक हुँदा तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको पाँच खेलबाट आठ अंक छ। पाँच खेलबाट ७ अंक बनाएको विराटनगर महानगरपालिका भने लिगको पाँचौं स्थानमा रहेको छ। पुछारमा रहेको उदयपुरको चौदण्डीगढी नगरपालिकाले भने पाँच खेलमा पाँचै खेल हारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।