काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो २ बजे सुरु हुनेछ।
लिगको पाँचौ स्थानमा रहेको वालिङले छैटौं स्थानको चन्द्रपुरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। एक–एक खेलमा जित निकालेको चन्द्रपुर र वालिङ एक–अर्कालाई पराजित गर्दै स्पष्ट तीन अंक खोस्ने लक्ष्यमा छन्।
विदेशी खेलाडीको आगमनले बलियो बनेको वालिङले खेलको पाँच खेलमध्ये एकमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै ५ अंक बनाएको छ। चन्द्रपुरले भने पाँच खेलमध्ये एक खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ। चन्द्रपुरको तीन अंक छ।
लिगको शीर्ष स्थानमा विभागीय टिम एपिएफ क्लब रहेको छ। एपिएफले ६ खेलबाट १८ अंक बनाएको छ। सोमबार मात्रै एपिएफले आफ्नो छैटौं खेलमा उदयपुरको चौदण्डीगढीलाई २२–० गोलअन्तरले पराजित गरेको थियो। फराकिलो जितमा सावित्राले १२ गोल गरेकी थिइन्।
लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ। आर्मीको पाँच खेलबाट १० अंक हुँदा तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको पाँच खेलबाट आठ अंक छ। पाँच खेलबाट ७ अंक बनाउँदै लिगको चौंथो स्थानमा विराटनगर महानगरपालिका रहँदा पुछारमा भने उदयपुरको चौदण्डीगढी नगरपालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।