काठमाडौं- सावित्रा भण्डारी एक्लैले राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध १२ गोल गरेकी छन्। विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौदण्डीगढीविरुद्ध २२-० गोलको जित निकाल्ने क्रममा सावित्राले १२ गोल गरेकी हुन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले कमजोर मानिएको चौदण्डीगढीविरुद्ध गोलको वर्षा नै गर्यो। यही क्रममा सावित्राले एकै खेलमा चौथो ह्याट्रिक पूरा गरिन्।
सावित्राले खेलको पाँचौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। त्यसपछि उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन्।त्यसपछि खेलको ३४, ३८ र ४७ औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्। एकपछि अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा सावित्राले खेलको ५५, ६२ र ६३ औं मिनेटमा गोल गर्दै तेस्रो ह्याट्रिक बनाइन्।

एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रममा सावित्राले खेलको ७२, ७९ र खेलको अतिरिक्त समयमा गोल गर्दै १२ गोल पुरयाएर चौथो ह्याट्रिक बनाइन्।
त्यस्तै, चौदण्डीगढीविरुद्ध कप्तान अनु लामाले ह्याट्रिकसहित पाँच गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक गोल गरिन्। सरु लिम्बु र रेनुका नगरकोटीले १–१ गोल थपे।
अनु लामाले ११, १४ र २०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। उनले २६ र ६५औं मिनेटमा थप दुई गोल गर्दै पाँच गोल गरिन्।

ह्याट्रिक पूरा गर्ने क्रममा अनिता बस्नेतले नवौं, ५० र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सरु लिम्बूले १८औं मिनेटमा गोल गर्दा रेनुकाले ३१ औं मिनेटमा गोल गरेकी थिइन्।
यसअघि पहिलो खेलमा सावित्राले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक गोल गरेकी थिइन्। त्यो खेलमा एपिएफले चन्द्रपुरलाई ६-० गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै, एपिएफले आफ्नो दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोलअन्तरले हराउँदा पनि सावित्राले ह्याट्रिक गोल गरेकी थिइन्।
विराटनगरविरुद्ध सावित्राले ह्याट्रिकसहित चार गोल गरेकी थिइन्। तेस्रो खेलमा आर्मीलाई एपिएफले २-० गोलले हराउँदा भने सावित्रा गोलविहीन बनिन्। तर त्यो दुबै गोल सावित्राको एसिस्टमा भएको थियो। चौथो खेलमा एपिएफले पुलिसलाई ३–० गोलले हराउँदा पनि सावित्राले ह्याट्रिक पूरा गरेकी थिइन्।

उनकै तीन गोलमा पुलिसविरुद्ध एपिएफले सहज जित निकालेको थियो। पाँचौ खेलमा भने स्याङ्जाको वालिङ नगरपालिकालाई एपिएफले ३–० गोलअन्तरले हराउँदा सावित्राले दुई गोल गरेकी थिइन्।
सावित्रा जारी महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले ६ खेलबाट २४ गोल गरिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।