काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछानेले शनिबार आइपिएलमा डेब्यू गरेपछि प्रशंसा बटुलिरहेका छन्। बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका सन्दीपले ४ ओभर बलिङ गर्दा १ विकेट लिँदै खेललाई यादगार बनाए।
२५ रन खर्चिएका सन्दीपले खेलमा बैंग्लोरका चार ब्याट्सम्यान विरुद्ध बलिङ गर्ने मौका पाए। जसमा उनले पार्थिव पटेल विरुद्ध ६ बल बलिङ गर्दा ५ बल रन दिए। सन्दीपले पार्थिवलाई एलबिडब्लु आउट गरेर यस्तै मोइन अली विरुद्ध उनले २ बल बलिङ गर्दा १ रन मात्र दिए। भारतीय कप्तान विराट कोलहीलाई सन्दीपले ८ बल बलिङ गर्दा ९ रन दिए। यस्तै एबी डिभिलियर्स विरुद्ध सन्दीपले ८ बल नै बलिङ गर्दा १० रन खर्चिए। अनुशासित बलिङ गरेका सन्दीपले २४ बल मध्ये १ बलमा छक्का र २ बलमा चौका बेहोरे।
विकेट लिएसँगै सन्दीप आइपिएलमा विकेट लिने तेस्रा कान्छा खेलाडी बने। सन्दीपले पार्विथलाई आउट गर्दा उनी १७ वर्ष २ सय ८२ दिन उमेरका थिए। आइपिएलका विकेट लिने सवैभन्दा कान्छा खेलाडी किंग्स इलावेन पञ्जावका मुजिव उर रहमान हुन्। अफगान खेलाडी मुजिव १७ वर्ष ११ दिन उमेरमा यहि सिजन विकेट लिएका थिए। विकेट लिने दोस्रा कान्छा खेलाडी भारतका राहुल चाहार हुन्। राहुलले गत सिजन पुनेबाट खेल्दै पञ्जाव विरुद्ध विकेट लिएका थिए। विकेट लिँदा उनी १७ वर्ष २ सय ४७ दिन उमेरका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।