काठमाडौं- निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ। आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको हो।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै पनि राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए। राजनीतिक निकास हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनले बताए।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि राजनीतिक समस्या राजनीतिक दलहरूले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए। मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने बताए।
दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्नसक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उनको भनाइ छ। राजनीतिक दलहरूले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्न नहुने उनले टिप्पणी गरे।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताए। उनले प्रमुख निर्वाचन आयुक्तहरूसँगको आयोगको छलफल नियमित भेटघाटको रुपमा रहेको स्पष्ट पारे।
सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताए। मतदाता नामावली अद्यावधिकको काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उनको भनाइ छ।
कतिपय निर्वाचन सामाग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उनले बताए। सहायक प्रवक्ता धमलाले घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रुपमा तयार रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।