फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि सापकोटाको पत्रले राष्ट्रिय सभाको भूमिका र गरिमामाथि प्रहार भएको बताएका छन्। सोमबार एक प्रेस नोट जारी गर्दै अध्यक्ष तिमल्सिनाले पत्रमा भएको अधिकार क्षेत्र र त्यसमा प्रयुक्त व्यवहारप्रति गम्भीर ध्यानाकर्षणसमेत भएको उल्लेख गरेका हुन्।
'पत्रमा उल्लिखित 'संघीय संसद् तथा सो अन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधि सभाका सभामुखमा निहित भएको' भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थितप अभ्यास माथिल्लो सदन (राष्ट्रिय सभा)को भूमिका र गरिमामा प्रहार भएको छ,' तिमल्सिनाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
संवैधानिक आयोगका पदाधिकारीमा सिफारिसलाई सभामुख सापकोटाले फिर्ता पठाउँदै संघीय संसद् र समितिका काम व्यवस्थापन गर्ने आफ्नो अधिकार क्षेत्र भएको उल्लेख गरेका थिए।
उनको पत्रमा प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाई हुन नसक्ने भन्दै सिफारिसलाई फिर्ता पठाएको उल्लेख थियो।
यो विषयले संघीय संसद्का तल्लो सदनका सभामुख र माथिल्लो सदनका अध्यक्षबीच 'टसल' सिर्जना भएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।