काठमाडौं- प्रहरी हिरासतमा रहेका व्यक्तिलाई बिना कारबाही थुनामुक्त गराउँछु भन्दै रकम लिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भक्तपुरको सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय बीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भई सूर्यविनायक–६ नै बस्ने २७ वर्षीय ग्याल्छेन लामा छन्।
विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत कात्तिक १६ गते भक्तपुर सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर नजिकबाट धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो।
पक्राउ परेका उनीहरूलाई बिना कारबाही सजाय र थुनामुक्त गराइदिन्छौं भनेर विश्वास दिलाई ग्याल्छेन र बीरबहादुरले नगद २ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएका थिए।
ठगी गरेको भन्ने जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीरबहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ ग्याल्छेन र बीरबहादुरउपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।