काठमाडौं- एभोकाडो फार्मिङ् तथा इन्डस्ट्रिज (एभिओ) र आकांक्षा क्रियसनबीच सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोबाट विस्थापित महिलाका लागि रोजगारी प्रदान गर्ने सहमति भएको छ।
विस्थापित महिलालाई कम्पनीले खेलौना बनाउनका लागि आवश्यक सामग्री तथा प्रशिक्षण नि:शुल्क गराउने सहमति भएको जनाइएको छ। आकांक्षा क्रियसनको सामाजिक अभियानलाई टेक्का इनिसियटिभले बाढी पहिरो प्रभावित विभिन्न वडामा समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।
प्रशिक्षण पूरा भएपछि विस्थापित महिलाहरूलाई रोजगारका लागि अवसर उपलब्ध गराइने एभिओ नेपालले जनाएको छ। यस्तो अवधारणा विस्थापित महिलाको जीवनयापन सुधार गर्न र उनीहरुलाई आर्थिक रूपमा सबल बनाउन सहयोग गर्ने उद्देश्यले निर्माण गरिएको जनाइएको छ।
उनीहरूले बनाएका खेलौनाहरू नेपाल, भारत र जापानमा विभिन्न माध्यमबाट बिक्री गरिने एभिओ नेपालले उल्लेख गरेको छ।
‘टेक्का इनिसियटिभसँग समन्वय गरेर यस्तो प्रेरणादायी काम गर्न पाउँदा धेरै खुसी लागेको छ‚’ एभिओकी सह-संस्थापक तथा निर्देशक सुदीक्षा अधिकारीले भनिन्।
सीमान्तकृत समुदाय, विशेषगरी महिलाहरूलाई सहयोग गर्ने अभिप्रायले यस्तो कार्यक्रम ल्याइएको उनले बताइन्।
‘हामी उनीहरूलाई बुनाइसँग सम्बन्धित र आपूर्ति सामग्री नि:शुल्क प्रदान गर्छौं,’ आकांक्षा क्रियसनका प्रबन्ध निर्देशकले भनिन्, ‘उनीहरूले प्रशिक्षण पूरा गरेपछि, त्यो सीपलाई प्रयोग गरेर आगामी ६ महिनामा कम्तिमा एक सय महिलालाई रोजगारी प्रदान गर्नेछौं।’
विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित सिन्धुपाल्चोक जिल्लालाई सरकारले संकटग्रस्त जिल्ला घोषणा गर्नुका साथै पुनर्निर्माणका कामसमेत अघि बढाइसकेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिलेसम्म प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ। यसैगरी ३९ जना बेपत्ता छन् भने १३० घर पूर्ण रुपमा क्षतिग्रस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।