काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ। बायर्नले होफेनहाइमलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
होफेनहाइमविरुद्ध घरेलु टिम बायर्नका जेरोमी बोटेङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज गिनाब्रीले गोल गरे। यता, होफेनहाइमका एन्ड्रेज क्रामारिकले गोल फर्काए। खेलको ३२ औं मिनेटमा बोटेङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। खेलको ४३ औं मिनेटमा थोमस मुलरले लेवान्डोस्कीको पासमा गोल गर्दै बायर्नलाई २–० गोलको अग्रतामा पुर्याए। तर त्यसको एक मिनेटपछि नै एन्ड्रेजले गोल गर्दै होफेनहाइमलाई २–१ गोलको स्थितिमा ल्याए।
पहिलो हाफसम्म २–१ को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ५७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा ६३ औं मिनेटमा सर्ज गिनाब्रीले गो गर्दै बायर्नलाई ४–१ को जित दिलाए।
बुन्डेसलिगा मै भएको अर्को खेलमा बोरुसिया डर्टमन्डले अग्सबर्गलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। त्यस्तै लिगको दोस्रो स्थानमा रहेको लाइपजिगले लिभरकुसनलाई १–० ले पराजित गरेको छ।
जितसँगै बायर्नले १९ खेलबाट ४५ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको लाइपजिगको भने समान खेलबाट ३८ अंक छ। दोस्रो स्थानको लाइपजिगसँग बायर्नले जितसँगै सात अंकको अग्रता बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।