काठमाडौं– डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गरेको हो।
साम्पडोरियाको मैदानमा भएको खेलमा युभेन्टसका लागि फेडेरिको चिसा र आरोन राम्सीले गोल गरे। खेलको २० औं मिनेटमा नै चिसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। उनले अल्भारो मोरटाको पासमा गोल गरे। पहिलो हाफमै गोल खाएको साम्पडोरिया युभेन्टसविरुद्ध दबाबमा खेलेको थियो।
युभेन्टसले खेलको अतिरिक्त समयमा अर्को गोल गर्दै २–० को जित निकालेको हो। यो पटक भने आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई जित दिलाएका हुन्।
शनिबार राति नै भएको अर्को खेलमा एसी मिलानले बोलोग्नालाई २–१ गोलअन्तरले पराजित गरेको छ। यो जितसँगै एसी मिलानले दोस्रो स्थानको इन्टर मिलानसँग दुई अंकको अग्रता बनाएको छ भने युभेन्टससँग सात अंकको अग्रता कायम गरेको छ। शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले बेनेभेन्टोलाई ४–० ले हराएको छ।
लिगको शीर्ष स्थानमा रहेको एसी मिलानको २० खेलबाट ४६ अंक हुँदा दोस्रो स्थानमा रहेको इन्टर मिलानको २० खेलबाट ४४ अंक छ। एक खेल कम खेलेको युभेन्टस जितसँगै ३९ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।