काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले लिगको पुछारको शेफिल्ड युनाइटेडलाई १–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम सिटीको जितमा गाब्रियल जेसुसले गोल गरे। उनकै एक मात्र गोल सिटीले स्पष्ट तीन अंक पाएको हो। खेलको नवौं मिनेटमा नै फेरान टोरेसको क्रस पासमा गाब्रियल जेसुसले गोल गरे। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ। यता, न्यु क्यासलले एभर्टनलाई २–० गोलले हराँदा क्रिस्टल प्यालेसले वुल्भ्सलाई १–० ले हराएको छ। त्यस्तै, एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा फुलहाम र वेस्ट ब्रुम भने २–२ गोलको बराबरीमा रोकिएका छन्।
जितसँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीले २० खेलबाट ४४ अंक बनाउँदा बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २१ खेलबाट ४१ अंक बनाएको छ। युनाइटेडलाई रोकेको आर्सनलको भने २१ खेलबाट ३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।