काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ। रियल आफ्नै मैदानमा लेभान्टेसँग २–१ गोलअन्तरले पराजित भएको हो।
खेलको सुरुवातमै १० खेलाडीमा झरेको रियलविरुद्ध लेभान्टेका जोसे लुइस मोरालेस नोगालेस र रोजर मार्टीले गोल गरे। यता, रियलका लागि मार्को एसेन्सियोले गोल गरेका थिए। सुरुवातमै गोल गरेको रियलले आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार व्यहोरेको हो।
इडर मिलिटाओले खेलको नवौं मिनेटमा नै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। खेलको १३ औं मिनेटमा नै मार्को एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए। तर ३२ औं मिनेटमा मोरालेस नोगालेसले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए।
पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको लेभान्टेले दोस्रो हाफमा थप एक गोल गर्दा रियल पराजित हुन पुग्यो। ७८ औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई २–० को जित दिलाए। शनिबार राति नै भएको अर्को खेलमा सेभियाले इबरलाई २–० ले पराजित गर्दा भ्यालेन्सियाले इल्चेलाई १–० ले हराएको छ।
हारसँगै रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी चारमा झार्ने मौका गुमाएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको २० खेलबाट ४० अंक छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १८ खेलबाट ४७ अंक छ। रियललाई पराजित गरेको लेभान्टे २० खेलबाट २६ अंक बनाउँदै लिगको नवौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।