काठमाडौं- मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। शनिबार भएको खेलमा विराटनगरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विराटनगरको जितमा अनु राईले दुई गोल गर्दा मनिषा थापा मगर, इमा राई, कुसुम खतिवडा र पार्वती घलेले समान १–१ गोल गरे।
पहिलो हाफमै चार गोल गरेको विराटनगरले दोस्रो हाफमा थप दुई गोल गर्दै चौदण्डीगढीविरुद्ध फराकिलो जित निकालेको हो। खेलको २१ र ३६औं मिनेटमा अनुले गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाइन्।
खेलको ३९औं मिनेटमा इमा र ४३औं मिनेटमा मनिषाले गोल गरेपछि विराटनगरले पहिलो हाफसम्म ४–० गोलको अग्रता बनायो। खेलको ८२औं मिनेटमा कुसुमले गोल गर्दै विराटनगरलाई ५–० को अग्रता दिलाइन्। त्यसको एक मिनेटपछि पार्वतीले गोल गर्दै विराटनगरलाई ६–० गोलको जित दिलाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।