काठमाडौं– राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ। आर्मीले चन्द्रपुरलाई १०–० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विभागीय क्लब आर्मीले चन्द्रपुरलाई विशाल गोलअन्तरले हराएको हो। आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित पाँच गोल गर्दा रश्मी घिसिङले ह्याट्रिक गोल गरिन्। त्यस्तै, विमला चौधरी र सपना लामाले १–१ गोल थपे।
खेलको तेस्रो मिनेटमा नै विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्। खेलको १५ र ३५ औं मिनेटमा शर्मिलाले दुई गोल गर्दै आर्मीको अग्रतालाई ३–० मा पुर्याइन्। खेलको ४४ औं मिनेटमा सपनाले गोल गर्दा आर्मीको अग्रता पहिलो हाफसम्म ४–० मा रह्यो।
खेलको ५१ औं मिनेटमा शर्मिलाले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनको ह्याट्रिकसँगै आर्मीले ५–० को अग्रता बनाएको थियो।
खेलको ५९ र ६२ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई ७–० को अग्रता दिलाइन्। ६४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत चौथो गोल गर्दा आर्मीले चन्द्रपुरविरुद्ध ८–० को अग्रता बनाएको थियो।
६६ औं मिनेटमा रश्मीले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेसँगै आर्मीले ९–० को अग्रता बनाएको थियो। एकपक्षीय देखिएको खेलमा आर्मीले ८४ औं मिनेटमा अर्को गोल थप्यो। शर्मिलाले नै पाँचौ गोल गर्दै आर्मीलाई १०–० को जित दिलाएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।