काठमाडौं- युरोपको ठूला फुटबल क्लबमा अहिले कोरोना माहामारीपछि आइपरेको आर्थिक समस्या जस्तो यसअघि कहिल्यै थिएन। जसको असर खेलाडी किनबेचको बजारमा परिरहेको छ। चर्चामा आएका धेरै खेलाडीलाई नयाँ क्लबमा जाने वातावरण ठूलो रकमका कारण नै बन्न सकिरहेको छैन।
युरोपियन फुटबलमा कोरोनाले अप्ठ्यारो पारेको फुटबल सिजन सामान्य अवस्थामा फर्कने प्रयासमा भने देखिन्छ। यो सिजनको खेल आधातिर पुग्दा अहिले पुनः खेलाडी किनबेचको चर्चा भइरहेको छ। मैदानबाहिरको यो खेलमा पहिले नै क्लब छाड्ने तयारीमा रहेका खेलाडी र केही नयाँ नाम किनबेचको चर्चामा छ।
इंग्लिस प्रिमियर लिग, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगामा जनवरी २ बाट सुरु भएको खेलाडी किनबेचको समय फेब्रुअरी १ सम्म रहनेछ। स्पेनिस ला लिगा र इटालियन सिरि ए मा भने जनवरी ४ मा सुरु भएको किनबेचको समय फेब्रुअरी १ मा नै सकिनेछ। जसमा खेलाडी किनबेचका साथै ‘लोन’ मा समेत सम्झौता हुन सक्नेछ।
खेलाडी किनबेचको गएको समय पनि कोरोनाले थलिएको फुटबल बजारका कारण प्रभावित बनेको थियो। ठूला भनिएका क्लबले पनि आफूले चाहेजस्तो गरी रकम खर्च गर्न सकेनन्। जसले अहिलेको समयमा पनि केही क्लबका लागि त्यही मुस्किल समय चलिरहेको छ। खेलाडी किनबेचको योजनालाई क्लबको आर्थिक अवस्था र खर्च गर्न पाउने रकमको सीमाले असर गरिरहेको छ।
जनवरीको खेलाडी किनबेचको समय तीन दिन बाँकी रहँदा ठूला निर्णय हुने अवस्था देखिएको छैन। ‘स्टार’ खेलाडीहरुको चर्चा भइरहे पनि उनीहरुलाई लैजान सिजनको बीचमा सहज हुँदैन नै। सिजनको अन्त्यमा हुन सक्ने किनबेचको चर्चा नै अहिलेको समयमा पनि जोडिएर आइरहेको देखिन्छ। जसमा केही फेरबदल भने देखिइरहेका छन्।
स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा इंग्लिस क्लब आर्सनलमा मार्टिन ओडेगार्ड गए। फ्रेन्च क्लब मार्सेलीबाट मोर्गान सानसन इंग्लिस क्लब एस्टन भिला गए। आर्सनलबाट मेसट ओजिल टर्कीको क्लब फेनरबाच एसकेमा गए। स्पेनिस क्लब रियल सोसिडाडबाट इंग्लिस क्लब वुल्भ्समा विलियन जोश गए। इंग्लिस क्लब ब्राइटनबाट माट रायन लोनमा आर्सनलमा गए।

टोटनह्यामबाट ब्रान्डन अस्टिन ओलान्डो सिटीमा लोनमा गए। फिकायो टोमोरी इंंग्लिस क्लब चेल्सीबाट लोनमा इटालियन क्लब एसि मिलान गए। जर्मन क्लब मेन्जबाट फिलिप माटेटा लोनमा इंग्लिस क्लब क्रिस्टल प्यालेस गए। इंग्लिस क्लब ब्राइटनबाट अस्ट्रियन क्लब साल्जबर्गमा लोनमा गए। फ्रि ट्रान्सफरमा क्रोयसियन खेलाडी मारियो मान्जुकिजलाई इटालियन क्लब एसी मिलानले लग्यो।
यस्तै फ्रेन्च क्लब लायोनबाट मोउसा डेम्बेले स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा गए। लेस्टरका इस्लाम स्लिमानी लायोनमा फ्रि टान्सफरमार्फत गए। वेस्ट ह्यामबाट सेबास्टियन हलर २०.२५ मिलियन पाउन्डमा नेदरल्याण्ड्सको क्लब आयाक्समा गए। आइभेरीकोस्टका विंगर अमाद डिएलो इटालियन क्लब एटलान्टाबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड गए।
यीबाहेक पनि किनबेचमा जान सक्ने केही खेलाडीको नाम चर्चामा आइरहेकै छ। त्यो केही दिनभित्र हुनेछ या अर्को समयसम्म रोकिनेछ यकिन देखिँदैन। गएको किनबेचको समयमा नै पहिलेका वर्षमा भन्दा १.५ बिलियन युरो कम खर्च भएको फुटबल बजारको कठिनाइ यथावत नै देखिन्छ।

तर पनि म्यानचेस्टर युनाइटेडबाट जेसे लिंगार्ड लोनमा वेस्टब्रुम जाने पक्का भएको खबर आइरहेका छन्। टोटनह्यामबाट इन्टर मिलान गएका क्रिष्टियन इरिकसन पुनः टोटनह्याम फर्किंदैछन् भन्ने खबर पनि देखिन्छ। जहाँ टोटनह्यामबाट डेल अलि पिएसजीमा जाने चर्चा छ। सेभियाबाट युसुफ नेसरी वेस्टहाममा र इरिक ग्रासिया म्यानचेस्टर सिटीबाट बार्सिलोनामा जाने खबर पनि चलिरहेको छ।
फुटबल बजारको किनबेच हल्लाका खबरहरुमा घेरिने भएकाले अन्तिम समयको सम्झौतासम्म यकिन हुन मुस्किल देखिन्छ। सिजन सकिएपछि हुने खेलाडी किनबेचको समयमा जस्तो उल्लास र प्रयास जनवरीको यो समयमा हुँदैन नै। जहाँ लियोनल मेस्सी, पोउल पोग्बा, डेभिड अलाबा, इस्को, जर्जिनियो विज्नाल्डम, ह्यारी केन र मेमफिस डिपे जस्ता खेलाडीको समेत क्लब फेर्ने चर्चा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।