काठमाडौं- पर्साको बहुदरमाई नगरपालिका-४ बुहअरीका २१ वर्षीय अकलेश राउत यादवको हत्याको योजनाकार उनकै फुपाजू भएको पाइएको छ। अकलेशको हत्या भएको डेढ महिनापछि जिल्ला प्रहरी कार्यालय पर्साले उनकै फुपाजू पर्सागढी नगरपालिका-५ का ५१ वर्षीय भागरित राउत अहिरसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
अहरिसँगै सोही ठाउँका ४१ वर्षीय शेष ताहिर मियाँ र २७ वर्षीय छठु पटेल भन्ने दिनेश पटेल पक्राउ परेका छन्। अहिरको योजनामा अकलेशको हत्या भएको पाइएको प्रहरीले निष्कर्ष निकालेको छ।
अकलेशको हत्यापछि फुपाजू भागरितले उनको बुवा तथा ठुलोबुवाको नाममा रहेको जग्गा जमिन तथा सम्पत्तिको एक्लो हकदार हुने भएकाले हत्या भएको पाइएको प्रहरीले निष्कर्ष निकालेको छ।
अकलेश पुस १ गते पर्सागढी नगरपालिका–६ चैनपुरस्थित् आफ्नै खेतको पकडीका रुपमा आफ्नै गलबन्दीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
घटनास्थलको अवलोकन, घटना अघि र पछिको अवस्थाको विश्लेषण, प्राविधिक विश्लेषण र उनको मृत्युपश्चात् विभिन्न पक्षलाई हुनसक्ने फाइदा लगायतको विश्लेषणको आधारमा प्रहरीले हत्यारासम्म पुग्न सफल भएको पर्साका एसपी बेल पाण्डेले बताए।
उक्त विश्लेषणपश्चात् अकलेशको हत्या हुँदा उनकै फुपाजू भागरितले फाइदा लिनसक्ने विश्लेषण निकालेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमार्फत् नै अन्य दुई जना पक्राउ परेका हुन्। हत्याको दुई दिनअघि भागरितले हाल पक्राउ परेका दुई जनालाई भेटी हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको छ।
उनीहरुलाई आर्थिक प्रलोभनमा पारेर हत्या गरिएको थियो। घाँटीमा डोरीले कसेर हत्या गरी अकलेशकै गलबन्दीको पासो लगाएर रुखमा झुण्ड्याएर उनीहरु फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।