काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। लिभरपुलले टोटेनहमलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
लिभरपुलले टोटेनहमलाई उसैको मैदानमा हराएको हो। यसअघि लिभरपुलले टोटेनहमविरुद्ध पहिलो लेगमा ‘होम’ खेल पनि २–१ ले जितेको थियो। प्रिमियर लिगमा भने लिभरपुलले पछिल्लो पाँच खेलमा जित निकाल्न सकेको थिएन। पछिल्लो पाँच खेलमध्ये साउथह्याम्पटन र बर्नलीसँग हारेको लिभरपुलले म्यानचेस्टर युइनाटेड, न्युक्यासल र बेस्ट ब्रुमसँग बराबरी खेलेको थियो। टोटेनहमविरुद्धको जितले लिभरपुलको आत्मविश्वास बढेको छ भने आफूलाई उपाधि दौडमा कायमै राखेको छ।
टोटेनहमविरुद्ध लिभरपुलका रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड र साडियो मानेले गोल गरे। टोटेनहमका पिइरे इमिल होजबजर्गले गोल गरे।
पहिलो हाफको अन्तिम समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए। खेलको ४७ औं मिनेटमा एलेक्सजेन्डरले गोल गरेपछि लिभरपुलले २–० गोलको अग्रता बनायो। तर खेलको ४९ औं मिनेटमा पिइरे इमिलले गोल फर्काएपछि टोटेनहमले लिभरपुलविरुद्ध २–१ को स्थिति बनाएको थियो। खेलको ६५ औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलले खेल ३–१ ले जितेको हो।
यो जितसँगै लिभरपुल लिगको चौथो स्थानमा उक्लिएको छ। २० खेलबाट ३७ अंक बनाएको लिभरपुल चौथो स्थानमा छ। पराजित टोटेनहम भने १९ खेलबाट ३३ अंक बनाउँदै लिगको छैटौं स्थानमा छ। लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ। सिटीको १९ खेलबाट ४१ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक छ। तेस्रो स्थानमा रहेको लेस्टरको २० खेलबाट ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।