काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ। बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्डसँग २–१ गोलअन्तरले हारेको हो।
आफ्नै घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड लिगको पुछारमा रहेको टीमसँग हार्न पुग्यो। शेफिल्ड युनाइटेडका केन ब्रायन र ओलिभर बर्कले गोल गरे। यता, म्यानचेस्टर युनाइटेडका लागि ह्यारी मागुइरले गोल गरे।
खेलको २३औं मिनेटमा केन ब्रायनले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाए। पहिलो हाफसम्म उनकै गोलमा शेफिल्डले अग्रता बनाएको थियो। खेलको ६४औं मिनेटमा ह्यारी मागुइरले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए।
तर, खेलको ७४औं मिनेटमा ओलिभर बर्कले गोल गरेपछि शेफिल्डले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको हो।
हारसँगै म्यानचेस्टर युनाइटेडले लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक छ।
युनाइटेडलाई हराएको शेफिल्डले लिगको पुछारमा रहँदै २० खेलबाट आठ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ। सिटीको १९ खेलबाट ४१ अंक छ।
बुधबार राति नै भएका अन्य खेलमा चेल्सीले वुल्भ्ससँग गोलरहित बराबरी खेल्दा लेस्टर सिटीले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ।
बर्नलीले एस्टन भिल्लालाई ३–२ गोलअन्तरले हराउँदा ब्राइटन र फुलहामले भने गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।