काठमाडौं– नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को प्रारम्भिक चरणमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्रारम्भिक चरणको खेलमा आर्मीले श्रीलंकाको पुलिस क्लबसाग प्रतिस्पर्धा गर्ने भएको हो। अप्रिल ७ तारिखमा हुने आर्मी र श्रीलंका पुलिसबीचको खेलस्थल भने एएफसीले टुंगो लगाएको छैन।
नेपालको त्रिभुवन आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिसबीचको विजेताले अप्रिल १४ तारिखमा भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ।
२०७६ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मी उविजेता बनेको थियो। पहिलो पटक विजेता बनेको मछिन्द्र क्लबले एएफसी कप खेल्नु पर्ने हो। तर एएफसी क्लब लाइसेन्स मछिन्द्र क्लबसँग छैन।
केही महिनाअघि नेपाली क्लबले एएफसी लाइसेन्सको लागि दिएको आवेदन एएफसीले मापदण्ड नपुगेको भन्दै लाइसेन्स दिन नेपालका १३ वटा क्लबलाई अस्वीकार गरेको थियो। तर आर्मी क्लबले भने थप सुधार गर्दै एएफसी क्लब लाइसेन्सको लागि पुनः आवेदन दिएको थियो। त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दिएको थियो। एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले एएफसी कप खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।