काठमाडौं- ३८ दिनदेखि वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीले सरकारी प्रतिनिधिहरुसँग छोराको हत्यारालाई कारबाही गरेपछि मात्र आफूले अनसन तोड्ने बताएकी छिन्। सरकारले विगतमा पटकपटक सहमति गरेर सहमति कार्यान्वयन नगरेको भन्दै पुनः सहमति गरेर आफूलाई लज्जित नबनाउनसमेत उनले आग्रह गरेकी छन्।
गृहसचिव महेश्वर न्यौपाने र कानुन सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा अधिकारीलाई भेटी अनसन तोड्न आग्रह गरेपछि उनले उक्त अडान राखेकी थिइन्।
माओवादी सशस्त्र युद्धका क्रममा गैरन्यायिक तवरबाट हत्या गरिएका छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै आमरण अनशन बसिरहेकी अधिकारीले भनिन्, 'पटक पटकको आश्वासनले मैले धेरैपटक राज्यलाई समय दिएँ, यो मेरो अन्तिम बटमलाइन हो। मेरा छोराका हत्यारालाई जेल हालेँ भनेर आउनुस्। तपाईंले आग्रह गर्नै पर्दैन। म आफैं अनसन तोड्छु।’
करिब एक घण्टासम्म भएको भेटमा नेपाल सरकारका सचिवद्वय आमरण अनशन स्थगित गर्न तथा औषधि उपचार सुरु गर्न गरेको आग्रह गरेका थिए । आमरण अनसनको ३८औं दिनमा नेपाल सरकारका गृहसचिव र कानुन सचिवसग भेट्न वीर अस्पताल पुगेका थिए। अनसनरत अधिकारीले भनिन्, ‘अब पनि न्याय दिने आश्वासन दिएर मलाई लज्जित नबनाउस्।’
यसअघि उनका पति नन्दप्रसाद अधिकारीले अनसनमै ज्यान गुमाएका थिए। उनकाे शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ।
अधिकारीले ‘राज्यलाई न्याय दिन १० वर्ष अपुग भएको हो?’ भन्ने प्रश्न गरेकी थिइन् । उनको यस्तो प्रश्नपछि सचिवद्वयले न्याय दिलाउन सघाउने आश्वासनबाहेक स्पष्ट केही बताउन सकेनन्।
पुस ६ गतेदेखि १२औं आमरण अनसनमा रहेकी गंगामायाको स्वास्थ अवस्था जोखिमपूर्ण बन्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।