काठमाडौं- मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबल पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा विराटनगरले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० गोलले पराजित गरेको हो।
विराटनगरको जितमा कुसुम खतिवडाले ह्याट्रिक गोल गरिन्। त्यस्तै, सरिता शेर्पा र अनु राईले गोल गरिन्। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको विराटनगरले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो अन्तरको जित निकालेको हो।
खेलको १२ औं मिनेटमा कुसुमले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए। खेलको ३२ औं मिनेटमा अनुले गोल गरेपछि विराटनगरले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो। खेलको ६३ औं मिनेटमा सरिताले गोल गर्दा विराटनगरले ३–० गोलको अग्रता बनायो। त्यसपछि खेलको ६९ औं र ७० औं मिनेटमा कुसुमले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनको ह्याट्रिकसँगै विराटनगरले चन्द्रपुरलाई ५–० ले हराएको हो।
विराटनगरको यो पहिलो जित हो। यसअघि भएको पहिलो खेलमा विराटनगरले स्याङ्जाको वालिङ नगरपालिकासँग १–१ गोलको बराबरीमा खेलेको थियो। त्यस्तै, दोस्रो खेलमा भने विराटनगरले एपिएफसँग ७–० गोलको हार ब्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।