बझाङ- बझाङको छबिसपाथिभेरामा स्थानीय विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्कने क्रममा विवाद हुँदा एक जनाको हत्या भएको छ। छबिसपाथिभेरा गाउँपालिका-३ को बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्कने क्रममा खुँडा प्रहार गरी एक जना युवकको हत्या भएको हो। हत्या भएका अमृत बहादुर सिंह नेपाली कांग्रेसको भातृसंस्था तरुण दलका गाउँपालिका सदस्य हुन्।
बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट बनेका व्यक्तिले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।
हत्याको विरोधमा नेविसंघले बुधबार सदरमुकाम चैनपुर बजार बन्द गर्नुका साथै जयपृथ्वी राजमार्गसमेत बन्द गरेको छ। हत्यामा संलग्नलाई कारबाही गर्न माग राख्दै सदरमुकाम चैनपुरमा विरोध र्याली निकालेको छ। र्यालीले चैनपुर परिक्रममा गरी जिल्ला प्रसाशन कार्यालयको मूलगेट अगाडि टायर बालेर विरोध गरेको थियो।
सत्तापक्षी दलका कार्यकर्ताले सत्ताको मातमा आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै कांग्रेस छबिसपाथिभेराले भर्त्सना गरेको छ। कांग्रेस कार्यकर्तामाथि सत्ता पक्षले पटकपटक प्रहार गरेको कांग्रेस नेता भरत खड्काले बताए। बझाङ कांग्रेसले हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शवसमेत नबुझ्ने बताएको छ। सिंहको शव जिल्ला अस्पतालमा राखिएको छ।
सिंहमाथि आक्रमण गरी हत्या गर्न छबिसपाथिभरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको समेत जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।
हत्या आरोपमा ३२ वर्षीय वडाध्यक्ष ऐडीसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३२ वर्षीय ज्ञानबहादुर कडायत, ३५ वर्षीय केदार ऐडी, ३२ वर्षीय प्रकाश ऐडी र वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी छन्। प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।