काठमाडौं– इंग्लिस चेल्सीको मुख्य प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन्। चेल्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वप्रशिक्षक टुचेललाई नियुक्त गरेको हो।
चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि टुचेललाई १८ महिनाको लागि नियुक्त गरेको हो। तर चेल्सीले सम्झौता बढाउन सक्ने समेत उल्लेख गरेको छ। लाम्पार्डलाई पनि चेल्सीले नियुक्त गरेको १८ महिनामा हटाएको थियो। टुचेललाई नियुक्ती गरेसँगै चेल्सीले २००३ पछि ११ औं प्रशिक्षक फेरेको छ।
मुख्य प्रशिक्षकमा नियुक्त भएका टुचेलले लाम्पार्डप्रति आफ्नो सधैं सम्मान रहँने भन्दै चेल्सीको प्रशिक्षक बन्दा निकै उत्साहित भएको बताएका छन्।
पिएसजीलाई दुई पटक लिगको उपाधि दिलाएका ४७ वर्षीय टुचेलले भनेका छन्, ‘मेरो नयाँ टिमसँग भेट्न म निकै हतार छु। चेल्सी परिवारको सदस्य हुन पाउँदा म एकदमै खुशी छु।’
इंग्लिस प्रिमियर लिगमा चेल्सीले खराब प्रदर्शन गरिरहेको कारण ४२ वर्षीय प्रशिक्षक लाम्पार्डलाई हटाएको थियो। २०१९ को जुलाईमा माउरिजियो सारीको स्थानमा तीन वर्षका लागि मुख्य प्रशिक्षकमा लाम्पार्ड नियुक्त भएका थिए।
लाम्पार्डकै प्रशिक्षणमा चेल्सीले आइतबार राति एफए कप फुटबलमा लुटन टाउनलाई पराजित गर्दै पाँचौ चरणमा प्रवेश गरेको थियो। तर, प्रिमियर लिगमा चेल्सीले पछिल्लो समयमा एकपछि अर्को खेलमा खराब प्रदर्शन गरिरहेको छ। चेल्सीले प्रिमियर लिगमा खेलेको पछिल्लो आठ खेलमध्ये दुई खेलमा मात्रै जित निकाल्दा पाँच खेलमा हार व्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।