काठमाडौं– जारी सिजनमा निकै खराब प्रदर्शन गरिरहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा निकोलस पेपे, बुकायो साका र एलेक्सन्ड्रे लेकाजेटले गोल गरे। साउह्याम्पटनका स्टुआर्ट अर्मस्ट्रङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै स्टुआर्टले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। साउथह्याम्पटनको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाए।
खेलको ३९ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो। ७२ औं मिनेटमा भने आर्सनलका लेकाजेटले गोल गर्दै ३–१ को जित दिलाए। मंगलबार राति नै क्रिस्टल प्यालेसलाई वेष्टहामले ३–२ गोलअन्तरले पराजित गरेको छ। न्युक्यासललाई भने लिड्स युनाइटेडले २–१ गोलले पराजित गर्यो।
जितसँगै आर्सनल लिगको आठौं स्थानमा उक्लिएको छ। आर्सनलको २० खेलबाट ३० अंक छ। पराजित साउथह्याम्पटनको भने १९ खेलबाट २९ अंक छ। क्रिस्टल प्यालेसलाई हराएको वेष्टहाम भने लिगको चौथो स्थानमा उक्लिएको छ। वेष्टहामको २० खेलबाट ३५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।