काठमाडौं– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो।
सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहिम स्टर्लिङले गोल गरे। खेलको पहिलो हाफसम्म चार गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको छैटौं मिनेटमा नै गुन्डगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए। २० औं मिनेटमा क्यानसेलोले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए। ३० औं मिनेटमा गुन्डगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० गोलको अग्रता दिलाए।
पहिलो हाफको अन्तिम समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाए। पहिलो हाफमा नै फराकिलो अन्तरले पछि परेको वेष्ट ब्रुमले दोस्रो हाफमा थप एक गोल खान पुग्यो। ५७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५–० गोलको जित दिलाए।
यो जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले १९ खेलबाट ४१ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो। पराजित वेष्ट ब्रुम भने २० खेलबाट ११ अंक बनाउँदै लिगको पुछारदेखि दोस्रो स्थानमा छ। लिगको दोस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक रहँदा लेस्टर सिटीको १९ खेलबाट ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।