काठमाडौं- विश्वको दोस्रो अग्लो हिमाल 'माउन्ट के टू' (पाकिस्तान)को आरोहण गरी कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरूलाई काठमाडौंमा स्वागत गरिएको छ।
निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू आरोहण गरेर मंगलबार स्वदेश फर्किएको हो।
उनीहरूले माघ ३ गते माउन्ट के टूको आरोहण गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले त्रिभुवन विमास्थलमा आरोहीहरूलाई स्वागत गरे।
आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छेअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
'माउन्ट के टू'को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको उनको भनाइ थियो।
आरोहीहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिरलाई पुनः उच्च राख्न सफल भएको कोइरालाले बताए। नेपालीहरू हरेक हिमाल चढ्न सक्छन् भन्ने उजागर भएको उनको भनाइ छ। यसले वर्तमान समयमा नेपालका ८ हजारमाथिका हिमालहरू आरोहण गर्न आउने पर्यटकहरूलाई पनि प्रोत्साहन मिलेको उनले बताए।
आरोही निर्मल पूर्जाले आफूहरूले माउन्ट के टू हिमालको सफल आरोहण गरी विश्वलाई ठूलो सन्देश दिएको बताए। समूहमा काम गरे कुनै कुरा पनि असम्भव छैन भन्ने सन्देश दिएको उनको भनाइ छ।
माउन्ट के टूमा अहिलेसम्म हिउँदयाममा कसैले पनि आरोहण गर्न सकेका थिएनन्। त्यसको सफल आरोहण गरी नेपालीहरूको नाम राखेको आरोही मिङ्मा शेर्पाले बताए। हिमाल आरोहीहरूको निम्ति ठूलो उपलब्धी भएको पनि उनले बताए।
आरोहणको क्रममा पाकिस्तानी सरकार र जनताबाट राम्रो साथ सहयोग पाएको उनीहरूले बताए।
थप तस्वीरहरू:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।