काठमाडौं- सोमबार ‘बालुवाटार मार्च’मा सहभागीहरूमाथि भएको प्रहरी दमनप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ।
मंगलबार महासंघका महासचिव रमेश विष्टद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘प्रतिनिधि सभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडी लगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।’
सोमबार कमलपोखरीको माटोको टीका लगाएर बालुवाटार पुगेका आन्दोलनकारीलाई प्रहरीले दमन गरेको थियो।
‘शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ।’
महासंघले आगामी दिनमा यस्ता दमनकारी कार्य नदोहोर्याउन सरकारलाई चेतावनीसमेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।