काठमाडौं- नेपाली सेनाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई २५ थान भरुवा बन्दुक बुझाएको छ। निकुञ्ज प्रतिनिधि र सेनाको संयुक्त गस्ती टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट माघ १० गतेसम्म बरामद २५ वटा बन्दुक सोमबार बुझाएको हो।
माघ ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ थान भरुवा बन्दुक सेनाले बरामद गरेको थियो भने माघ ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा थप २ थान भरुवा बन्दुक फेला परेको थियो।
११ गते नै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ बाट थप ७ थान भरुवा बन्दुक बरामद भएको थियो।
माघ ११ गते नै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ बबई गाउँपालिका–१ को खयरखुट्टीस्थित् स्थानीय व्यक्तिको घरबाट समेत १ नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ।
हतियार बरामद गरेपछि निकुञ्ज तथा आसपास इलाकामा हुने गरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने सेनाले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।