काठमाडौं- इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ। चेल्सीले प्रशिक्षक नियुक्त भएको १८ महिनामा सोमबार लाम्पार्डलाई बर्खास्त गरेको हो।
इंग्लिस प्रिमियर लिगमा चेल्सीले खराब प्रदर्शन गरिरहेको कारण ४२ वर्षीय प्रशिक्षक लाम्पार्डलाई हटाएको हो। २०१९ को जुलाईमा माउरिजियो सारीको स्थानमा तीन वर्षका लागि मुख्य प्रशिक्षकमा लाम्पार्ड नियुक्त भएका थिए।
लाम्पार्डकै प्रशिक्षणमा चेल्सीले आइतबार राति एफए कप फुटबलमा लुटन टाउनलाई पराजित गर्दै पाँचौ चरणमा प्रवेश गरेको थियो। तर, प्रिमियर लिगमा चेल्सीले पछिल्लो समयमा एकपछि अर्को खेलमा खराब प्रदर्शन गरिरहेको छ।
सोचेअनुरुपको नतिजा दिन नसकेपछि चेल्सीका पूर्वमिडफिल्डर समेत रहेका लाम्पार्डलाई हटाइएको हो। चेल्सीले प्रिमियर लिगमा खेलेको पछिल्लो आठ खेलमध्ये दुई खेलमा मात्रै जित निकाल्दा पाँच खेलमा हार व्यहोरेको छ।
त्यस्तै, एक खेलमा बराबरी खेलेको छ। पछिल्लो आठ खेलमध्ये एभर्टनसँग १–० ले हारेको चेल्सी त्यसपछि वुल्भ्ससँग २–१ ले पराजित हुँदा वेष्टहामलाई भने ३–० ले जितेको थियो।
आर्सनलसँग ३–१ ले, एस्टन भिल्लासँग १–१ को बराबरी खेलको चेल्सीले म्यानचेस्टर सिटीसँग ३–१ गोलको हार व्यहोरेको थियो। त्यसपछि फुलहामलाई १–० ले जितेको चेल्सी लेस्टर सिटीसँग भने २–० ले हारेको थियो।
चेल्सी अहिले इंग्लिस प्रिमियर लिगको नवौं स्थानमा छ। चेल्सीको १९ खेलबाट २९ अंक छ। जबकी शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान खेलबाट ४० अंक छ। चेल्सी शीर्ष स्थानमा रहेको युनाइटेड भन्दा ११ अंकले पछि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।