काठमाडौं- रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा चन्द्रपुरले चौदण्डीगढीलाई फराकिलो अन्तरले पराजित गरेको हो। चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गोल गरिन्। त्यस्तै, दिलकुमारी राना मगरले दुई गोल गर्दा रजनी थोकर र सुनिता भोलानले गोल गरे।
चौदण्डीगढीकी अञ्जना थुलुङले गोल गरेकी थिइन्। खेलको २३औं मिनेटमा अञ्जनाले गोल गर्दै चौदण्डीगढीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, चौदण्डीगढीले आफ्नो अग्रता जोगाउन सकेन। पहिलो हाफको अन्तिम समयमा दिलकुमारीले गोल गर्दै पहिलो हाफसम्म चन्द्रपुरलाई १–१ गोलको बराबरी दिलाइन्।
खेलको ४७औं मिनेटमा रजनीले गोल गर्दै चन्द्रपुरलाई २–१ को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ५१, ६९ र ७८औं मिनेटमा सविताले गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
योसँगै चन्द्रपुरले ५–१ को अग्रता बनाएको थियो। खेलको ८५औं मिनेटमा सुनिता र खेलको अतिरिक्त समयमा दिलकुमारले अर्को गोल थप्दै चन्द्रपुरलाई ७–१ गोलको जित दिलाइन्।
चन्द्रपुरको जारी लिगमा यो पहिलो जित हो। यसअघि भएको खेलमा चन्द्रपुर नगरपालिका विभागीय क्लब एपीएफसँग ६–० गोलअन्तरले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।