काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङमा चार सातापछि पानी हाल्न सकिने अवस्थामा पुगेको आयोजना कार्यालयले जनाएको छ। सोमबार आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षणमा पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापालाई आयोजनाका तर्फबाट यस्तो जानकारी दिइएको हो।
मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकांश काम सम्पन्न भइसकेको बताए। उनले निकासका लागि राखिएका सुरुङको ढोका मर्मत लगायत महत्वपूर्ण सबै काम सकिएको बताए।
‘करिब सबै काम सकिएको छ। सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट विज्ञ समूह ल्याएर सुरुङको निरीक्षण पनि गराएका छौं’, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरु शुरु गरेका छौं। २४ सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गर्छौं।’
खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम शुरु गर्न सकिने बताएका छन्।
निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटरभित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए। त्यसक्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौं ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिए।
मन्त्री थापाले मेलम्चीको पानी खाने काठमाडौंवासीको धोको पूरा गर्नु आफ्नो लक्ष्य रहेकाले बाँकी कामहरु चाँडै सक्न निर्देशन दिएका थिए। सुरुङको निरीक्षण लगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरीक्षण गरेका थिए।
सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन्। प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८.५ करोड लिटर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।