काठमाडौं– टमी अब्राहमको ह्याट्रिक गोलमा चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ। एफए कपको चौथो चरणमा भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम चेल्सीका लागि अब्राहमले ह्याट्रिक गोल गरे। उनकै गोलमा चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको हो। लुटन टाउनका जोर्डान क्लार्कले एक गोल फर्काए। अब्राहमले खेलको ११ र १७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवातमै २–० को अग्रता दिलाए। खेलको ३० औं मिनेटमा जोर्डान क्लार्कले गोल गर्दै लुटनलाई २–१ को स्थितिमा ल्याए।
पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। चेल्सीका लागि खेलको ७४ औं मिनेटमा अब्राहमले गोल गर्दै ह्याट्रिक पूरा गरे।
त्यस्तै, लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१, एभर्टनले शेफिल्ड युनाइटेडलाई ३–० ले र बर्नलीले फुलहामलाई ३–० ले नै पराजित गर्दै एफए कपको पाँचौ चरणमा प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।