काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियालाई पराजित गर्दै सात अंकको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
एथ्लेटिको मड्रिडको जितमा जोआओ फिलिक्स, लुइस स्वारेज र एन्जल कोरेयाले गोल गरे। भ्यालेन्सियाका उरोस रासिसले गोल गरे। खेलको ११ औं मिनेटमा नै रासिसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। तर भ्यालेन्सियाको यो अग्रता धेरै बेर टिकेन। खेलको २३ औं मिनेटमा फिलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–१ गोलको बराबरी दिलाए।
पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो। खेलको ५४ औं मिनेटमा स्वारेज र ७२ औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई ३–१ गोलको जित दिलाए।
यो जितसँगै एथ्लेटिको मड्रिडले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग सात अंकको दूरी बढाएको छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडले १८ खेलबाट ४७ अंक बनाउँदा एक खेल बढि खेलेको रियल मड्रिडको १९ खेलबाट ४० अंक छ। तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ३७ अंक छ। पराजित भ्यालेन्सियाको भने २० खेलबाट २० अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।