काठमाडौं–बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इल्चेविरुद्ध बार्सिलोनाका फ्रान्की डि जोङ र रिकी पुइगले गोल गरे। कप्तान लियोनल मेस्सी विनै मैदानमा उत्रिएको बार्सिलोनाले सहज जित निकालेको हो। खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।
३९ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलको ८९ औं मिनेटमा फ्रान्की डि जोङको एसिस्टमा रिकी पुइगले गोल गर्दै बार्सिलोनालाईै २–० को जित दिलाए। ६६ प्रतिशत बल पोसिजन आफ्नो पक्षमा राखेको बार्सिलोनाले इल्चेको पोस्टमा १५ पटक प्रहार गरेको थियो।
त्यस्तै, आइतबार राति नै भएका खेलमा ओसासुनाले ग्रानाडालाई ३–१ गोलअन्तरले हराउँदा सेल्टा भिगो र इबरले १–१ गोलको बराबरी खेलेका छन्।
यो जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको १९ खेलबाट ३७ अंक हुँदा पराजित इल्चेको १८ खेलबाट १७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।