काठमाडौं- जारी राष्ट्रिय महिला लिग फुटबलमा सावित्रा भण्डारीको दोस्रो ह्याट्रिक गोलमा विभागीय क्लब एपीएफले फराकिलो जित निकालेको छ। आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एपीएफकी सावित्राले ह्याट्रिकसहित चार गोल गरिन्। त्यस्तै, अनिता केसीले दुई र सरु लिम्बुले एक गोल गोल थपिन्।
खेलको नवौं मिनेटमा नै अनिता केसीले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। २५ र ४२औं मिनेटमा सावित्राले गोल गर्दा एपीएफले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनायो।
७२औं मिनेटमा सरुले गोल गर्दा त्यसको दुई मिनेटपछि सावित्राले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सावित्राको ह्याट्रिकसँगै एपीएफले ५-० गोलको अग्रता बनाएको थियो। खेलअवधिभर कमजोर प्रदर्शन गरेको विराटनगर महानरपालिकाविरुद्ध ८० औं मिनेटमा अनिता केसीले अर्को गोल गरिन्।
८९औं मिनेटमा सावित्राले चौंथो गोल गर्दै एपीएफलाई ७–० गोलको जित दिलाइन्। सावित्राको यो जारी प्रतियोगितामा दोस्रो ह्याट्रिक हो। यसअघि पहिलो खेलमा सावित्राले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक गोल गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।