काठमाडौं- विभागीय क्लब, त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा नै गर्यो।आर्मीकी बिमला चौधरीले ह्याट्रिक गोल गरिन्।
त्यस्तै, दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजंगा राईले गोल गरे। पहिलो हाफसम्म तीन गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकालेको हो।
खेलको १५औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। २८औं मिनेटमा दीपाले गोल गरेसँगै आर्मीले दोब्बर अग्रता बनायो। ४४औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई पहिलो हाफसम्म ३–० गोलको अग्रता दिलाइन्।
६६औं र ७५औं मिनेटमा बिमलाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनको ह्याट्रिक गोलसँगै आर्मीले ५–० गोलको अग्रता बनायो।
खेलको ६८ औं मिनेटमा सपना लामाको स्थानमा मैदान छिरेकी हेमाले ८९औं मिनेटमा गोल गरेसँगै आर्मीले ६–० गोलको अग्रता बनाएको थियो। खेलको अतिरिक्त समयमा भुजंगाले गोल गरेपछि आर्मीले वालिङ नगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।