सम्झना १
बिहे भएपछिको पहिलो दशैं। त्योभन्दा अघिको दशैं बुवा स्वर्गीय भएकाले मान्न पाएनौं। आफू जान्ने भएपछि हरेक दशैंमा पहिलो टीका बुवाको हातबाट नै लगाउँदै आएका थियौं। बुवाबिनाको पहिलो दशैं थियो। पहिले जस्तो दशैंको अनुभूति गर्न सकिनँ।
त्यो वर्षको टीका राम्रो छैन भन्ने पनि हल्ला थियो। त्यही भएर आमा पनि दशैं मान्ने मनस्थितिमा हुनुहुन्थेन। तर, मलाई भने यता घरपट्टि दशैं नमानी धरै थिएन। बिहे गरेको पहिलो वर्ष भएकाले घरमा टीका लाइसकेर श्रीमानका नातेदार आफन्तकहाँ पनि जानुपर्ने थियो।
माइती लाने कोसेली बनाउने सन्दर्भमा मैले सासूआमासँग भने, 'यो वर्षको टीका राम्रो छैन भन्ने सुनेकी छु। बिहेपछिको पहिलो टीका यस्तो बेला नलाउने कि भन्नुभएको छ उता आमाले।'
सासूआमाले भन्नुभयो, ‘हुन्छ, त्यसो भए अर्को वर्ष लगाए भइगयो नि!'
टीका लाउन सबै तयार भइसक्नुभएको थियो। भाष्करजीले 'कति ढिला गरेको छिटो आऊ' भनेर बोलाइरहनुभएको थियो। म लुगा फेर्न नसकी कोठामा एक्लै रोइरहेकी थिएँ।
सम्झना २
गाउँमा पिङ हाल्नका लागि एकै ठाउँमा खर जम्मा गर्ने गरिन्थ्यो। बाट्ने बेला बलियाहरु धेरै जना जम्मा भएर घुमीघुमी बाट्ने गर्थे। हामी सानाजति छेउमा बसेर अति रमाइलो मानेर त्यो दृश्य हेरिरहन्थ्यौं। डोरीसँगै हाम्रो उमंग पनि बाटिन्थ्यो। कहिले बन्ने होला पिङ ? पिङ तयार नहुँदै हामी मनकै उमंगको पिङ खेल्न थाल्यौं।
त्यो वर्ष खोलापारि पिपलको रुखमा पिङ हालिएको थियो। ठूलाहरुलाई नै पालो नपुग्ने, हामी साना केटाकेटी त कहिलेकाहीँ मात्र खेल्न पाउँथ्यौं।
मभन्दा तीन वर्षले ठूली हुनुहुन्थ्यो दिदी। उहाँ साथीसँग एकसाथ पिङ खेल्नुभएको याद अझै छ। पिङ मच्चिरहेकै बेला अचानक दिदी निकै माथिबाट खस्नुभयो। बारी छेउको ठूलो ढुंगामा बज्रिँदा उहाँको निधार काटेछ। निकै रगत बग्यो। उहाँ रुन थालेपछि मेरा आँखाबाट पनि आँसु रोकिन मानेनन्। आमाहरु घरतिरै हुनुहुन्थ्यो। रगत रोक्न चोट लागेको ठाउँमा एक दाइले माटो हालिदिनुभयो।
यो घटनापछि त्यस वर्ष हामी दाजुबहिनी कोही पनि पिङ खेल्न जान पाएनौं। किनकि आमाको कडा आदेश जारी भइसकेको थियो।
हुन त त्यसपछिका दशैंमा पनि पिङ खेलेको हेरेर नै रमाइलो गरेँ। मलाई पिङ खेल्न नै अति डर लाग्थ्यो। डर त यति बेला पनि लाग्छ, अझ अर्कै डर। सम्झन्छु, पन्थी बुवाको बारी छेउ रहेको त्यो बडेमाको ढुंगामा बज्रिँदा नराम्रो हेडइन्जुरी भएको भए? अनि त्यसरी माटो हाल्दा घाउमा इन्फेक्सन भएको भए?
सम्झना ३
गाउँमा टीका थाप्न जान कुनै नाताकुटुम्ब हेरिँदैन। घरघरमा गएर आफूभन्दा ठूलाको हातबाट टीका लाइन्थ्यो। सबैको घरको पिँढीमा रातो टीकाको थाली र जमरा बिहानदेखि रातिसम्मै हुन्थ्यो। गयो, बस्यो अनि मान्यजनको हातबाट टीका लायो।
केटीहरुलाई अनिवार्य दक्षिणा दिने चलन थियो। कहीँकतै त केटाले पनि पाउँथे। कतैकतै भने 'कन्या केटी' भनेर टीका लाइसकेपछि गोडामै ढोग्ने गर्थे। त्यो बेला म फुरुंग पर्थें- आफू छोरी भएर जन्मिएकोमा। अनि गमक्क हुन्थेँ- दाजु र केटा साथीहरु सामुन्ने। अहिले सम्झँदा एक्लै हाँसो उठ्छ। बालापनको बेला अरुले गोडा ढोगेको र दक्षिणा दिएको क्षण खुसी लाग्नु स्वाभाविकै हो। तर, यो चलनप्रति नै तर्कसहित मेरो विमति छ।
सम्झना ४
दशैं घर-संघारमा आइपुग्दै गर्दा म विगतमा पुग्छु। र, त्यो विगतमा हुन्छ-घैंटोमा हालेको काँक्रोको अचार।
दशैंलाई नै भनेर घरघरमा काँक्राको अचार हाल्ने प्रचलन जस्तै थियो। टीका लाउन गएपछि केही न केही खानैपर्ने। सेलरोटी, चिउरा, अचार इत्यादि। मलाई यीमध्यै सबैभन्दा मन पर्ने काँक्रोको अचार। बट्टा वा घैंटोमा हालेर बनाइएको काँक्राको अचारलाई खल्पी भन्ने गरिन्छ। त्यो खल्पी नभई दशैं हो जस्तो लाग्दैन थियो। दशैंमा खल्पी छुटाउनै नहुने परिकारभित्र पर्छ झैं लाग्थ्यो।
पहेँलो काँक्राको खल्पी नभए पनि दशैंमा हरियो काँक्रोको अचार मेरोमा टुट्दैन।
सम्झना ५
आमा नवमीसम्म एक छाक खाएर व्रत बस्नुहुन्थ्यो। दिउँसोतिर पकाएर खाने। त्यसो त माघमा स्वस्थानी र शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्दा पनि उहाँ एक छाक खाएर नै व्रत लिनुहुन्थ्यो। त्यो बेला आमाले आफ्नो लागि पकाएको खाना हामीलाई दिनुहुन्थेन। सन्तोषी माताको व्रतमा पकाएको खानेकुरा खानेले अमिलो खानुहुन्न भन्ने मान्यता थियो।
तर, नवदुर्गा भवानीको व्रतमा भने आमाको लागि पाकेको खाना हामी खान पाउँथ्यौं। घाम नडुब्दै पाकेको भात र तरकारी आजसम्मकै मिठो लागेको छ मलाई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।