काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० ले हराएको छ। एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा रेखा पौडेल र सिर्जना खड्काले दुई-दुई साथै अमृता जैसी र निर्मला बिकेले एक-एक गोल गरे।
खेलको २८औँ मिनेटमा नै रेखा पौडेलले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन्। रेखाले खेलको ८९औँ मिनेटमा टिमको पाँचौँ तथा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।
अमृता जैसीले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन्। खेलको ४५औँ मिनेटमा नै सिर्जना खड्काले गोल गरेकी थिइन्। पहिलो हाफको अतिरिक्त समयमा निर्मला बिकेले गोल गरिन्। सिर्जनाले नै ९० मिनेटपछिको समयमा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।
खेलपछि पुलिस क्लबका प्रशिक्षक सञ्जिव जोशीले टिमको मेहनत र समन्वयका लागि धन्यबाद दिँदै सबै खेलाडीको प्रदर्शन राम्रो रहेको बताए। चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले आफूहरुको टिम अनुभवको कमिले गर्दा पछि परेको बताए। आउने खेलहरुमा राम्रो गर्ने विश्वास रहेको बताउँदै उनले उपत्यकाबाहिर बाट आएर प्रतिस्पर्धा दिन सक्नु खुसीको कुरा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।