काठमाडौं– रसियामा बिहीबारदेखि सुरु भएको सडक बालबालिकाका लागि आयोजना गरिएको 'स्ट्रिट चाइल्ड वर्ल्डकप'मा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपालले समूह चरणमा दुवै खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। नेपालले पहिलो खेलमा ताजकिस्तानलाई ३–१ गोलले पराजित गर्यो। दोस्रो खेलमा नेपालले केन्यामाथि २–० गोलको जित निकालेको थियो।
नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन्। सेल्टर आश्रय नेपालले तीन महिनाअघि सडक बालबालिकाको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो। सेल्टर आश्रमको संचालन खुस्बु ओलीले गर्दै आएकी छिन्।
मस्कोमा भइरहेको प्रतियोगितमा विश्वभरबाट महिला र पुरुष गरी २४ देशले सहभागिता जनाएका छन्। जहाँ पुरुषको १२ र महिलाको १२ टिम हुनेछन्। करिब २ सय सडक बालबालिकाको सहभागिता हुने प्रतियोगितामार्तफ सडक बालबालिकाप्रति रहेको नकारात्मक धारणा परिवर्तन गर्ने विश्वास गरिएको छ।
'स्ट्रिट चाइल्ड वर्ल्डकप' सन् २०१० देखि सुरु भएको प्रतियोगिता हो। गत संस्करणमा पनि प्रतियोगिता ब्राजिलमा आयोजना भएको थियो। प्रतियोगितालाई बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनको पनि साथ छ।
संयुक्त राष्ट्र संघका अनुसार १५ करोड बढी बालबालिका सडकमा जीवन गुर्जान बाध्य छन्। जसले गर्दा उनीहरुको जीवन खतरामा छ। डरलाग्दो जीवन बिताउन बाध्य भएपनि उनीहरु प्रति हेर्ने दृष्टिकोण नकारात्मक छ भने कतिपय अवस्थामा हिंसाको समेत सिकार बन्नु परेको छ। फुटबलबको माध्यमबाट सडक बालिकाको बारेमा जनचेतना जगाउन र बालबालिकाको क्षमता पहिचान गर्न विश्वकप आयोजना गरिएको स्ट्रिट चाइल्ड युनाइटेडले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।