काठमाडौं- कोपा डेल रे अन्तर्गत अन्तिम ३२ टिमको खेलमा कोर्नेलाविरुद्ध बार्सिलोनाका मिडफिल्डर इलाक्स मोरिबा सामेल गरिनु चकित पार्ने निर्णय नै थियो। सिनियर टिमको रोचक डेब्यू १८ वर्षका उनका लागि उत्साहको समय थियो। भन्छन्, ‘खेल अघिको रातभर निदाउन सकिनँ।’
स्पेनमा ‘सेगुन्डा डिभिजन बी’ (वरियतामा तेस्रो डिभिजन) मा रहेको कोर्नेलासँग बार्सिलोना गोलमा बलियो रुपमा प्रस्तुत हुन सकेको थिएन। यतिसम्म कि बार्सिलोनाले ९० मिनेटभित्र नै दुई पेनाल्टीमा गोल गर्न सकेन। खेलको ३९औँ मिनेटमा मिरालेम पियानिच र ८०औँ मिनेटमा उसमान डेम्बेले पेनाल्टीमा गोल गर्न चुके। अतिरिक्त समयमा पुगेको खेलमा डेम्बेले र मार्टिन ब्रेथवेटको गोलमा बार्सिलोना विजयी भयो।
बार्सिलोनले गोलमा अपेक्षाकृत खेल देखाउन नसके पनि मैदानमा नियन्त्रण भने बनाइरहेको थियो। खेलमा ७३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको बार्सिलोनाले पोस्टमा प्रहार गरेका २३ सटमा ९ सट पोस्टको दिशामा थिए। एथ्लेटिको क्लबसँग स्पेनिस सुपर कपको फाइनल गुमाएको बार्सिलोनामा दुई खेलको प्रतिबन्धमा परेका कप्तान लियोनल मेस्सी थिएनन्।

यो सबैका बीच सुरुवाती ११ मा नै मैदान प्रवेश गरेका मोरिबाका लागि खेल विशेष रह्यो। बार्सिलोना बी टिममा राम्रो प्रभाव पारिरहेका उनी कोर्नेलाविरुद्ध सिनियर टिमको पहिलो खेलमा ७४औँ मिनेटसम्म मैदानमा थिए। जसपछि उनको स्थानमा सर्जियो बुस्केट्स ल्याइए।
‘म खेल्दैछु भनेर प्रशिक्षकले भनेदेखि नै गजवको विचारहरु मनमा खेलिरहेको थियो। जसले गर्दा म रातभर निदाउन सकिनँ। म प्रशिक्षक र टिमका साथीहरुप्रति कृतज्ञ छु, सबैलाई धन्यबाद दिन चाहन्छु। यो डेब्यू मेरा लागि अहिलेसम्मको सबैभन्दा विशेष जन्मदिनको उपहार हो’ उनले भनेका छन्।
सेगुन्डा डिभिजनको टिमसँगको खेल भए पनि त्यो सहज हुने छैन भन्ने अनुमान आफूहरुले पहिले नै गरेको मोरिबा बताउँछन्। सेगुन्डा डिभिजनकै अल्कोयानोसँग रियल मड्रिड पराजित भएको देखेकाले पनि आफूहरु सचेत रहेको उनको भनाइ छ। ‘कोचले हामीलाई सहज हुँदैन भनेर भन्नुभएको थियो’ उनले भने।

पश्चिमी अफ्रिकाको गिनीमा सन् २००३ जनवरी १९ मा जन्मिएका मोरिबा बार्सिलोना एकेडेमीबाट नै बढेका खेलाडी हुन्। स्पेनको १७ वर्षमुनि र १८ वर्षमुनिको टिममा खेलिसकेका उनको तुलना मिडफिल्डका भेट्रान खेलाडीहरुसँग हुन थालिसकेको छ। खेल बुझेर बलमा नियन्त्रण बनाउन सक्ने र फरवार्ड लाइनमा बल बढाउन सक्ने उनको कला विशेष मानिन्छ।
स्पानियोलको युथ एकेडेमीबाट ७ वर्षकै उमेरमा मोरिबा बार्सिलोना एकेडेमीमा गएका थिए। अहिले नै युरोपका ठूला क्लबहरुले लाने प्रयास गरिरहेका मोरिबासँग बार्सिलोनाले २०२२ को जुनसम्मको सम्झौता गरेको छ। जहाँ मोरिकाको रिलिज क्लज १०० मिलियन युरो राखिएको छ।
अहिले बार्सिलोना सिनियर टिममा एक खेलमा प्रस्तुत भए पनि आफ्नो टिम अहिलेसम्म बार्सिलोना बी नै रहेको र त्यसमा नै मेहनत गरिरहने मोरिबाले बताएका छन्। एकैचोटी हतारमा नभइ हरेक पाइला गर्दै अघि बढ्ने सोच रहेको उनले स्पेनिस सञ्चार माध्यमसँग बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।