काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिकोले इबारलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिमविरुद्ध एथ्लेटिको मड्रिडको जितमा लुइस स्वारेजले दुवै गोल गरे। इबारका मार्को डिमिट्रोभिचले गोल गरे। खेलको १२ औं मिनेटमा नै मार्कोले गोल गर्दै इबारलाई अग्रता दिलाएका थिए। तर आफ्नो अग्रता जोगाउन नसक्दा इबारले हार ब्यहोरेको हो।
खेलको ४० औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेलमा १–१ गोलको बराबरी दिलाए। इबारका एनाट्ज एर्बिलाले लुकास टोरेइरालाई डिबक्सभित्र फोउल गरेपछि एथ्लेटिको मड्रिडले पेनाल्टी पाएको थियो। ८९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै स्वारेजले एथ्लेटिको मड्रिडलाई २–१ गोलको जित दिलाएका हुन्। स्पेनिस ला लिगा मै भएको अर्को खेलमा भ्यालेन्सियाले ओसासुनासँग १–१ गोलको बराबरी खेलेको छ।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको यो जितसँगै १७ खेलबाट ४४ अंक भएको छ। इबारको भने १९ खेलबाट १९ अंक छ। एथ्लेटिको मड्रिडले लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ७ अंकको अग्रता बनाएको छ। रियलको १८ खेलबाट ३७ अंक छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ३४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।