काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा पराजित भएको छ। बिहीबार राति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० ले हारेको हो।
आफ्नै मैदानमा लिभरपुल बर्नलीसँग स्तब्ध हुँदै महत्वपूर्ण तीन अंक गुमाएको हो। सुरुवाती खेलहरुमा उत्कृष्ट गर्दै आए पनि लिगको मध्यतिर आइपुग्दा लिभरपुल कमजोर देखिएको छ। बर्नलीका लागि एस्ले बर्नेसले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल खान पुग्यो। लिभरपुलका एलिसन बेकरले डिबक्सभित्र खेलको ८३ औं मिनेटमा एस्ले बर्नेसलाई फोउल गरेपछि बर्नलीले पेनाल्टी पाएको थियो। एस्लेले पेनाल्टीबाट गोल गर्दै १–० गोलको जित दिलाएको हो।
७२ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखे पनि लिभरपुलले खेल हार्न पुग्यो। पछिल्लो समयमा लिभरपुलले एकपछि अर्को खेलमा अंक गुमाई रहेको छ। क्रिस्टल प्यालेसलाई ७ गोलको जित निकालेपछि प्रिमियर लिगमा लिभरपुलले पाँच खेल खेलेको छ। जसमा दुई खेलमा हार ब्यहोरेको छ भने दुई खेलमा हार ब्यहोरेको छ।
लिभरपुललाई पराजित गरेको बर्नली १८ खेलबाट १९ अंक बनाउँदै लिगको १६ औं स्थानमा उक्लिएको छ। चौथो स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ३४ अंक छ। ४० अंकसहित लिगको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।