काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलमा मोरङको विराटनगर महानगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाबीच १–१ गोलको बराबरीमा खेल सकिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे सुरु भएको खेलमा विराटनगर र वालिङले बराबरी खेल्दै अंक बाँडेका हुन्। वालिङकी सम्झना शर्माले गोल गर्दा विराटनगरकी भारतीय खेलाडी आशा कुमारीले गोल फर्काइन्।
खेलको दोस्रो मिनेटमा नै वालिङकी सम्झनाले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गरेकी थिइन्। यो गोलसँगै वालिङले विराटनगरलाई पहिलो हाफसम्म १–० गोलले पछि पारेको थियो। तर दोस्रो हाफमा विराटनगरले गोल फर्काउन सफल भयो। विराटनगरकी भारतीय खेलाडी आशाले खेलको ६८औं मिनेटमा फ्री-किकबाट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याइन्। बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो।
यसअघि बिहीबार नै भएको पहिलो खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोलअन्तरले पराजित गरेको छ। माघ सातबाट सुरु भएको राष्ट्रिय महिला लिग फागुन सात गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।