काठमाडौं– विभागीय टिम एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेको छ। बिहीबार भएको खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एपिएफले चन्द्रपुर नगरपालिकालाई सहज रुपमा पराजित गरेको हो।
एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गोल गरिन्। उनले खेलको १४ औं मिनेटमा नै गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्।
खेलको २२ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले गोल गर्दै एपिएफको अग्रतालाई दोब्बर पारिन्।
पहिलो हाफसम्म दुई गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकालेको हो। खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० मा पुर्याइन्। त्यसको दुई मिनेटपछि नै कप्तान अनिता बस्नेतले गोल गर्दै एपिएफलाई ४–० को अग्रता दिलाइन्।
खेलको ७२ औं मिनेटमा सावित्राले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन्। ८९ औं मिनेटमा प्रिती राईले गोल गरेपछि एपिएफले चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।